फेसबुकमार्फत सम्पर्क बढाई विवाह गरेर नातेदारलाई ठग्ने पक्राउ

काठमाडौँ । संखुवासभा माकल गाउँपालिका–५ बस्ने मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाह समेत गरी उनकै नातेदारलाई ठगी गरेको अभियोगमा भक्तपुर च्याम्हासिंह बस्ने सिन्धुपाल्चोकको माङखा–७ का ३३ बर्षीय तुलबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सिन्धुपाल्चोकको माङखाबाट पक्राउ गरेको छ ।

निजले मनकलाकै नातेदार राजेश गुरुङ र कैलास गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी प्रलोभन देखाई २१ लाख रुपैयाँ लिई पीडितहरुलाई प्रोसेसको लागि काठमाडौँ बोलाई पीडितहरु तथा श्रीमती समेतबाट सम्पर्क बिहिन भई ठगी गरेको जानकारी प्राप्त भएपछि अनुसन्धानको क्रममा उनलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

तामाङले यसअघि फेसबुक मार्फत साथी बनाई लेवनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङ्गसँग डिपेन्डेन्ट भिषामा अमेरिका लैजाने भनी ९ लाख, निज सिर्जनाका भाई संजय दोङ्ग र मिम लामालाई क्यानडा पठाउने भनी १३ लाख रुपैयाँ र साईप्रसमा रहेकी कुसुम लामालाई क्यानडामा जाऔं भनी नेपाल बोलाई ९ लाख रुपैयाँ ठगी गरेक थिए । तामाङलाई उक्त ठगी मुद्दामा २०७३ श्रावण महिनामा पक्राउ गरी कारवाही भएकोमा केही समय थुनामा बसी धरौटीमा छुटे पश्चात पुनः ठगी धन्दा सुरु गरेको अनुसन्धाबाट खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि आइतबार उक्त महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडाँै पठाएको छ ।