नेपालमा कम्युनिष्टले चुनाव जित्दा भारतलाई ‘टेन्शन’, चीन र भारतपछि नेपाल टाउको दुखाई

काठमाडौ । नेपालमा बाम गठबन्धनको बहुमतसँगै छिमेकी राष्ट्र भारत भने अत्तालिएको छ। नेपालमा हुने राजनीतिक अस्थिरताको फाइदा उठाउँदै आएको भारत स्थिर सरकार बन्ने देखेपछि अत्तालएको हो ।

भारतीय संचार माध्यमले नेपालमा कम्युनिष्टहरुको जितलाई चीनको ‘पर्दापछाडिको खेल’का रुपमा समेत ब्याख्या गरेका छन् । भारतीय दैनिक पत्रिका नवभारत टाइम्सले नेपालका कम्युनिष्टहरुको जितलाई ‘भारतका लागि खतरा’ भनेको छ ।

यसअघि भारतले नाकाबन्दी लगाउँदा ओली नेतृत्वको सरकारले डटेर सामना गरेका थिए । नेपालको संविधानमा भारतीय स्वार्थ लाद्न नसकेपछि केही मधेसवादी दललाई ढाल बनाएर भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । नाकाबन्दीलाई नेपाली कांग्रेसले समेत अघोषित समर्थन गरेको थियो ।

नेपाली नागरिकले भने शत्रुले पनि भोग्न नपर्ने पीडा नाकाबन्दीका बेलो बेहोरेका थिए । तर, निर्वाचनमा नेपाली कांग्रेसको ‘लज्जास्पद पराजय’ सँगै भारतले आफूलाई नेपालबाट खतरा महशुस गरेको छ । भारतीय संचार माध्यमले ओली नेतृत्वको सरकार चीनतिर झुकाव राख्ने भएकाले भारतका लागि समस्या हुने उल्लेख गरेका छन् । यसलाई भारतीय संचार माध्यमले चीन र पाकिस्तानपछि अब नेपाल पनि भारतका लागि ‘टेन्शन’ भएको उल्लेख गरेका छन् ।

भारतीय विदेश मामिलासम्बन्धी जानकार ब्रम्हा चेलानीले भनेका छन्–नेपालमा दुई प्रमुख कम्युनिष्ट पार्टी सीपीएन युएमएलका प्रमुख ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकसाथ आएका छन् । नेपालमा कम्युनिष्ट सरकारको झुकाव निःसन्देह चीनतर्फ हुने बताएका छन् ।

चेलानीले ओलीले यसअघि नेपालमा अस्थिरता ल्याउन भारतको हात रहेको आरोप लगाइसकेको भन्दै नेपालका तराईबासीलाई समेत ‘प्रवासी’ बताएका छन् । अर्थात नेपालको तराईमा रहेकाहरु भारतीय हुन र उनीहरु नेपालमा प्रवासी मात्र भएको चेलानीको भनाइ छ।

भारतका पूर्व विदेश सचिव कंबल सिब्बलले भने नेपालमा कम्युनिष्टहरुको जितमा चीनले पर्दापछाडिबाट भूमिका निभाएको बताएका छन् । अब नेपाल सरकार चीनतर्फ झुकाव राख्ने भन्दै उनले यसबाट भारतलाई समस्या हुन सक्ने दावी गरेका छन् । उनले ओलीले सन्तुलित सम्बन्ध अपनाउने आशा समेत व्यक्त गरेका छन् ।

भारत नेपालमा सबै कुरा उसकै आदेश अनुसार होस भन्ने चाहना राख्ने गर्दछ । पिउनको सरुवाबढुवादेखि बाटो विस्तार र ससाना विकास निर्माणमा समेत चासो राख्ने मात्र होइन दख्खलसमेत दिँदै आएको छ । त्यसैले पनि अहिले भारतलाई नेपालका बाम गठबन्धनको जित टाउको दुखाइको विषय बनेको छ ।

तर, भारतले एउटा असल छिमेकीको व्यवहार गर्ने हो भने नेपालमा जुनसुकै सरकार आए पनि समस्या नहुने विज्ञहरु बताउँछन् ।