प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

काठमाडौ । मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ र प्रदेशसभा सदस्यतर्फ ३२९ प्रतिनिधि निर्वाचित भएका छन् । अब प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक÷एक निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि भएको निर्वाचनमा हालसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचन प्रणालीतर्फ नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २२, राष्ट्रिय जनता पार्टी नेपालले ११ र संघीय समाजवादी फोरम नेपालले १० सिट जितेको छ ।

यस्तै, नयाँ शक्ति पार्टी नेपाल एक, नेपाल मजदुर किसान पार्टी एक, राष्ट्रिय जनमोर्चा एक र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेको छ । एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेशसभातर्फ पनि नेकपा एमाले अग्रस्थानमा छ । नेकपा एमालेले १६८ स्थान, माओवादी केन्द्रले ७३ स्थान र कांग्रेसले ४१ स्थानमा जित हाँसिल गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अहिले जारी छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार एमालेले १७ लाख ७९ हजार ६२८ मत, कांग्रेसले १६ लाख ९५ हजार ९८६, माओवादी केन्द्रले सात लाख दुई हजार ५६०, संघीय समाजवादी फोरम नेपालले दुई लाख १५ हजार ९५७ र राजपाले एक लाख ५२ हजार ६०२ मत प्राप्त गरेको छ ।