ढोरपाटनमा शिकारको दोस्रो याम शुरु

बलेवा, २७ फागुन 
बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्षमा यो वर्षको दोस्रो यामका लागि शिकारको समय शुरु भएको छ ।

यो वर्षको दोस्रो यामका लागि १० वटा नाउर र चार वटा झारल शिकार गरिने ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ । ढोरपाटन साहसिक शिकार गर्ने थलोका रुपमा चिनिन्छ ।

यहाँ विभिन्न देशका शिकारीले आफ्नो सोख पूरा गर्न शिकारका लागि आउने गर्छन् । त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खुलाएको बोलपत्रमा प्रतिष्पर्धा गर्नुपर्छ र बोलपत्र हात पारेकाले मात्रै यहाँ आएर शिकार गर्नपाउने व्यवस्था रहेको छ । गत महीना खुलाएको प्रतिष्पर्धाको क्रममा सबैभन्दा धेरै बोलकबोल मूल्यबाट विभिन्न कम्पनीका शिकारीले अनुमति पाएका छन् ।

यो यामका लागि नाउरको प्रतिशिकार रु १३ लाख ५१ हजार र झारलको रु १३ लाख ५० हजार बुझाउने भएको विभागले जनाएको छ । शिकारी हेलिकप्टर लिएर काठमाडौँदेखि सिधै ढोरपाटन शिकार आरक्ष पुग्ने गरेका छन् । उनीहरुले ढोरपाटनमा झण्डै तीन सातासम्म बसेर शिकार गर्न पाउने व्यवस्था रहेको शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । दोस्रो यामका लागि हिमालयन आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स र नेपाल वाइल्ड लाइफ समारिजले बोलपत्र पारेका हुन् उनीहरुले दुई दुई नाउर र एकएक झारल शिकार गर्नेछन् ।

नेपाल वाइल्ड लाइफ एडभेञ्चरले एक नाउर र एक झारल तथा हिमालयन सफारिजले दुई नाउर र ग्लोबल सफारिज नेपालले एक नाउर शिकार गर्न पाउने विभागले जानकारी दिएको छ । यो यामका लागि छ वटा क्षेत्र तोकिएको विभागका शिकार व्यवस्थापन प्रमुख श्यामकुमार शाहले बताउनुभयो । हरेक वर्ष कात्तिक महीनामा पहिलो याम र चैतमा दोस्रो यामका लागि विभागले बोलपत्रमार्फत शिकार खुलाउँछ ।रासस