खातक (खादा) के हो त ? जान्नैपर्ने विषय

बौद्ध धर्मावलम्बीहरूको हरेक धार्मिक तथा सांस्कृतिक कार्यमा खातकलाई महत्त्वपूर्ण मानिन्छ । समयको परिवर्तनसँगै खातकको रङ्ग र आकारहरू परिवर्तन भए पनि यसको एउटै अर्थ आदरसत्कार गर्नु हो । धर्म गुरुको दर्शन र अतिथिको स्वागत मात्र नभई जन्मदेखि मरणसम्मका हरेक काममा खातकको प्रयोग अनिवार्य छ । खातकको प्रयोग शेर्पा समुदायको हरेक धार्मिक तथा सांस्कृतिक चालचलनको अभिन्न अङ्ग बनेको छ । आदिम कालदेखि नै शेर्पा समुदायमा आफ्नो धार्मिक संस्कार तथा सांस्कृतिक कार्यहरू गर्दा फूलमाला प्रयोग गर्ने चलन भए तापनि उच्च हिमाली क्षेत्रहरूमा सदबहार फूलहरू नपाइने भएकाले फूलको सट्टा सेतो कपडाको टुक्रा प्रयोग गर्ने प्रचलन सुरु भएको किंवदन्ती छ । जुन आज पनि खादा नभएको बेलामा र केही महत्त्वपूर्ण धार्मिक पूजापाठमा प्रयोग गरिन्छ । यसलाई दरकर्पो भनिन्छ । उदाहरणको लागि बच्चा जन्मेपछि चोखिने दिन अर्थात् न्वारनको बेला शुभकामना दिंदै आफन्तजनहरुले सुत्केरी आमालाई सेतो कपडाको टुक्रा कुममा राखी आर्शीवाद दिने चलन थियो । जसलाई शेर्पा भाषामा आङि गोतार भनिन्छ । विवाह कार्यमा पनि दरकर्पो (सानो सेतो कपडाको टुक्र केटा मान्छेको दायाँ कुममाथि र केटी मान्छेको बायाँ कुममाथि राखिदिने चलन छ । त्यस्तै धर्मागुरूको दर्शन गर्दा काँचको थालमा फलफूल तथा गेडागुडी भराई सेतो कपडाको एक टुक्राले सजाएर धर्म गुरूको अगाडि राखेर दर्शन गर्ने चलन छ । खातकको सुरुवात कहिले र कहाँबाट सुरु भयो भन्ने कुनै एकिन तथ्याङक छैन । तर आठौं शताब्दीमा गुरू रिन्पोछे (गुरु पद्म सम्भव अर्थात् दोस्रो गौतम बुद्ध) लाई तिब्बतको राजा ठिसोङ देउचेनले राजदरबारमा स्वागत गर्दा सेतो कपडाद्वारा स्वागत गरेका थिए । यसैको पछिल्लो रूप खातक हो । त्यसपश्चात् खातकको नामसहित बजारीकरण भएको हो ।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको संस्थापक अध्यक्ष ल्हाक्पा नुर्वु शेर्पाका अनुसार परापूर्व कालमा उच्च हिमाली क्षेत्रको रूखमा पाउने एक किसिमको सेतो ज्यासलाई अतिथि स्वागत तथा आदर सत्कारमा प्रयोग गरिन्थ्यो । यसलाई मेङमा भनिन्छ । यो ज्यास हिमाली क्षेत्रको रूखहरूमा जुङ्गा जस्तो गरी रहने गर्दछ । यो सबै ठाउँमा पाइँदैन । यसपछि शेर्पाहरूले चम्पा (सेतो उवा, गौंंं) को पिठोलाई आदर सत्कारमा प्रयोग गर्छन् । यसलाई चम्दार भनिन्छ । हिजोआज पनि शेर्पाहरूले घरमा पाहुनालाई पेय पदार्थ खुवाउँदा गिलासको छेउमा सानो चम्पा टीका लगाइदिने परम्परा छ । यसलाई ‘चम्ग्यान’ भनिन्छ । विस्तारै शेर्पाहरूले अतिथि आदरसत्कारमा सेतो कपडाको टुक्रा प्रयोग गर्न थाले । यसलाई च्याब्तर अथवा दरकार भनिन्छ । यसरी खातकको विकास हुने क्रममा सर्वप्रथम सादा सेतो खातक बजारमा आयो । यसलाई खातक क्युमा भनियो । यसै गरी अश्यु खातक, टशी ताके खातक (अष्टा मङ्गल अङ्कित खातक) जस्ता विभिन्न नाम भएका खातकहरू बजारमा आए । पछिल्लो समय प्रविधिको प्रयोग र प्रतिस्पर्धात्मक बजारका कारण विभिन्न रङ्ग, आकार र गुणस्तरका आधारमा खातक बजारमा आए । साथै खातकमा सम्भोटा लिपिमा टशिदेलेग लेखिएको बजारमा आयो । यसरी खातकमा सम्भोटा लिपिमा नै (टशिदेलेग, ञिमो देले छेन्देले (दिन र रातमा शुभमंगल होस्,) ञिमो कुयाङ देलेस्योक (दिनमा शुभमंगल भै रहोस्,) ञिन्छेन ताक्तु देलेपे (सदा शुभमंगल होस्,) कोन्छोक सुम्गी टशिस्योक (त्रिरत्नको शुभमंगल होस्) भनी त्रिरत्नलाई प्रार्थना गर्ने शब्द अष्ट मङ्गलको साथमा खातकको दुवै छेउमा लेख्ने चलन आयो । यी सम्पूर्ण खातकहरू हाल पनि प्रयोग भइरहेका छन् ।
हाल विभिन्न पाँच रङ्गको खातक जस्तै निलो, सेतो, हरियो, रातो र पहेँलो बजारमा पाइन्छ । यस खातकमा पनि अष्ट मङ्गलको साथमा सम्भोटा लिपिमा त्रिरत्नलाई प्रार्थना गर्ने मन्त्र छापिएको हुन्छ । यसरी पञ्चारङ्गी खातक निकाल्नुको पछाडि धेरै तत्त्वहरूको अर्थ रहेको छ । जस्तै पञ्चतत्त्व निलो आकाश, सेतो बादल, हरियो जल, रातो अग्नि र पहेंलो पृथ्वी वा जमिन आदिको सङ्केतको रूपमा निकालेको पाइन्छ भने अर्र्कोेतिर पञ्चबुद्धको स्वरूप अनुसार निलो अक्ष्योभ्या बुद्ध, सेतो बैरोचना बुद्ध, हरियो अमोधसिद्धी बुद्ध, रातो अमिताभ बुद्ध र पहेँलो रत्न सम्भव बुद्धलाई सङ्केत गरी खातक निकाल्दै आएको छ । खातक जति रङ्गको आए पनि सेतो खातक नै इतिहास बोकेको खातक हो । खातकको प्रयोग गर्दा धर्म गुरुको दर्शनमा पहेँलो र अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सेतो रङ्गको प्रयोग गर्दा उपयुक्त हुन्छ । तर अन्य कार्यक्रममा जुन खातक प्रयोग गरे पनि मृतकको लासमा चडाउने खातक भने सादा सेतो रङ्गको उपयुक्त हुने धार्मिक व्यक्तिहरूको सुझाव छ । खातकको प्रयोग वि.सं. २०६२÷६३को द्धोस्रो जनआन्दोलन पश्चात् धेरै भएको देखिन्छ । यसरी खातकको प्रयोग गर्ने क्रममा हिजो हिमाली भूभागका बासिन्दाहरू भित्र मात्र सीमित रहेको खातक नेपालमा बसोबास गर्ने सम्पूर्ण जातिले सहज रूपमा प्रयोग गर्दै आएको पाइन्छ । शेर्पाहरूले धर्म गुरुको दर्शन गर्दा फलफूल माथि खातक वा खातक भित्र गच्छेअनुसार खामभित्र नगद राखी धर्म गुरूको अगाडि राख्ने, आफूभन्दा ठूलो उमेर समूहको मान्छेलाई खातक आदरसत्कार स्वरूप हातमा दिने र सानाहरूलाई माया गरी लगाइदिने परम्परा रहेको छ । आदिम कालदेखि प्रयोगमा ल्याइएको सेतो खातक नै शेर्पा जातिले प्रयोग गर्ने खातक हो । सेतो खातक नै प्रयोग गर्नुको मुख्य कारण भनेको शुभकार्य भन्ने हुन्छ । खातक शेर्पालगायत हिमाली भूभागमा बसोबास गर्ने जातिको धार्मिक संस्कार तथा सांस्कृतिक कार्यको अभिन्न अङ्ग हो ।

साभार—शेर्पा समुदायको मौलिक पहिचान नामक पुस्तकबाट

लेखक तथा अनुसन्धानकर्ता शेर्कु शेर्पा  पर्यटन व्यवसायी हुन्