एन्फामा शेर्पा निर्वाचित,वर्षैपछि शुद्ध एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । अध्यक्षका उम्मेदवार कर्मा्छिरिङले ६३ मत सहित विजय भएका हुन् । उनका प्रतिद्धन्दी मणि कुँवरले जम्मा १२ मत पाएका थिए । केन्द्रीय कार्यसमितिमा पनि सबै कर्माछिरिङ समूहबाटै बिजयी भएका छन् । चार उपाध्यक्षमा क्रमशः पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएको हो भने सदस्यमा शेर्पा समुहकै दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ र किरण राई विजयी भएका छन् । यससँगै एन्फा औपचारिक रुपमा गणेश थापाको छत्रछायाँबाट मुक्त भएको छ भने एन्फामा शुद्धीकरणको अभियानमा नै लागेको शेर्पा सफल भएको मान्न सकिन्छ । थापालाई १८ कार्तिक २०७१ मै फिफाले प्रतिबन्ध लगाएको थियो । ३० कार्तिक २०७२ मा फिफाले थापामाथि १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी कडा प्रतिबन्ध लगाएको थियो । तर, एन्फामा उनको हालीमुहाली कायमै रह्यो । उनले चाहेका पात्रहरु नै एन्फाको नेतृत्वमा पुग्ने गरेको थियो । यो पटक पनि थापाले मणि कुँवरलाई अघि सारेका थिए । मणि कुँवर गणेशका आफ्नै सालो हुन् । कुँवरले अन्तिम समयमा आएर विधानसम्मत नभएको भन्दै चुनाव बहिस्कारको घोषणा पनि गरे । तर, निर्वाचन कमिटीले समय घर्किसकेको भन्दै उनको उम्मेदवारी फिर्ता स्वीकार गरेन र चुनाव गरायो ।