म्याग्दीमा टायरबाट हस्तकलाका सामान

म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा टायर प्रशोधन गरि हस्तकलाका सामान बनाउने उद्योगको डिलर सञ्चालनमा ल्याइएको छ । जलजला गाउँपालिका– ३ मल्लाजका डेनिश थापा र रघुगंगा गाउँपालिका– २ भगवतीका सुगम खत्रीले बेनी स्थित शिक्षा मार्गमा टायरबाट उत्पादीत समानहरुको ‘ढिकी जातो हस्तकला’ उद्योगको डिलर सुरु गर्नुभएको हो । साढे ४ बर्षसम्म जापानमा बसेर फर्किएका थापाले पर्वतको लस्तीमा १० रोपनी जग्गा भाडामा लिएर टायरबाट हस्तकलाका सामाग्रीसंगै घर, रेष्टुरेन्ट, बगैचा र होमस्टेको लागि सजावतका सामाग्री निर्माण गर्ने उद्योग सञ्चालनमा ल्याउनुभएको थियो । उक्त उद्योगबाट उत्पादीत सामाग्रीहरुको बजारीकरणको लागि उद्यमीद्धय थापा र खत्रीले बेनीमा संयुक्त रुपमा डिलर सञ्चालनमा ल्याउनुभएको हो । उद्योगमाट टायरबाट टि टेवल सेट, डायनिङ टेवल सेट, कुर्चि, ¥याक, बच्चाहरुको कुर्चि, टेवल, ऐना, मोडा, गमला, सजावटको सामाग्रीहरु उत्पादन हुने गरेको उद्योगका सञ्चालक थापाले बताउनुभयो । वातावरणमा खेर जाने टायरलाई प्रशोधन गरि उक्त उद्योगले घाम र पानीबाट समेत कुनै क्षती नहुने हस्तकलाका सामान उत्पादन गर्दै आएको छ । सञ्चालकहरुको अनुसार, टायरबाट कुर्चि, टेवुल लगायतका सामाग्री बनाउने यो उद्योग नेपालमै पहिलो भएको दावि गरिएको छ । जापानमा रहँदा टायर प्रशोधन उद्योगमै काम गर्ने अवसर पाएका थापाले त्यहाँ शिकेको शिपलाई स्वदेशमै सदुपयोग गरि उद्योग सञ्चानलनमा ल्याउनुभएको हो । यस उद्योगमा अहिलेसम्म ७० लाख बढी लगानी भैसकेको छ । टायर संगै बाँस लगायतका अन्य कच्चा पदार्थबाट समेत हस्तकलाका सामान बनाउने गरि उद्योगको क्षमता विस्तार गर्ने योजना रहेको थापाले बताउनुभयो । अहिले उक्त उद्योगमा टायरबाट बनाईएका १५ प्रकारका सामाग्रीहरुलाई बजारीकरण गर्न थालिएको डिलरका अर्का सञ्चालक सुगम खत्रीले बताउनुभयो । गुणस्तरीय र टिकाउ संगै आकर्षक समेत हुने भएपछि अहिले विभिन्न क्षेत्रबाट टायरबाट निर्मित कुर्चि, टेवुल, मोडा, गमला लगायतका समाग्रीको माग बढ्दो क्रममा रहेको छ ।