सुचना पाउने अधिकारसंगै ज्ञान पनि हुन आवश्यक,सुचना आयोग

नागरिकले पाउने सुचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचना आयोगको सहयोगमा द टाइन्मस इन्टरनेशनल कलेजमा आइतबार भएको ‘सार्वजनिक सरोकार, थाहा पाउने हाम्रो अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तक्रिया कार्यक्रममा राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सुचनाको सुविधा र प्रवाह मात्र गरेर भन्दा पनि सुचनाको हक र सुचनाको विषयमा जानकारी लिने सर्व साधरणले पनि यस विषयमा जान्न आवश्यक रहेको बताइन् । उहाँले विशेषगरी महिलाहरुमा सूचनाको हक सम्वन्धि ज्ञान हुनु अत्यन्त आवश्यक रहेका बताउनुभयो ।

‘महिलाले पाउने हक, अधिकारको बारेमा ज्ञान हुनु आवश्यक छ । तर कतिपय महिलाले हक,अधिकारका बारेमा ज्ञान नहुँदा उनीहरुले पाउने अधिकार पाउन सकेका छैनन् ।’उहाँले थप्नुभयो । महिला व्यवसायीक रुपमा लाग्दा सरकारले दिने कर छुटका बारेमा समेत जानकारी गराउनुभयो । युवा स्वरोजगार, शिक्षामा पाउने ऋण सहुलियत लगायतको विषयमा पनि जानकारी दिनुभएको थियो । त्यस्तै कार्यक्रममा आयोगका प्रविधि विज्ञ सन्तोष तिम्सिनाले सूचना माग्ने तरिकाका विषयमा जानकारी गराउनुभयो । कलेजका अध्यक्ष टिकाराम सापकोटाले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप मनोवल बढ्ने बताउनुभयो । कार्यक्रममा आयोगका कार्यक्रम अधिकृत सुस्मिता बस्नेत, सूचनाको हकका अभियन्ता सर्फुला अनसारी लगायतको सहभागिता थियो । सो अवसरमा कलेजका विद्यार्थीले सूचनाको हकका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजिकरण फिमेल युथ नेपालकी अध्यक्ष सन्ध्या विडारीले गर्नुभएको थियो ।