युरिक एसिड नियन्त्रण गर्ने विधि

डा.कपिलमणि के.सी
वर्तमान अवस्थामा युरिक एसिडको बारेमा नसुन्ने मानिसहरू सायदै कम होलान् । यति धेरै प्रचलित समस्या भएर पनि यसको बारेमा जनमानसमा स्पष्ट जानकारी नहुँदा गलत उपचार पद्धति हावी भएको देखिन्छ ।
सबैभन्दा पहिला यो कुरा बुझ्न जरुरी छ कि हामी सबैको शरीरमा युरिक एसिड हुन्छ । युरिक एसिडको मात्रा ३ देखि ७ मिलिग्राम पर डेसिलिटर भएको अवस्थालाई सामान्य मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, यस्तो अवस्थालाई युरिक एसिड बढेको भनिन्छ । यस्ता धेरै मानिस हुन्छन्, जसको रगतमा युरिक एसिडको मात्रा बढेको देखिए पनि जोर्नी दुख्ने, सुन्निने समस्या नहुन सक्छ, जसलाई हाइपर युरिसेमिआ भनिन्छ । यस्तो अवस्थाका मानिसहरूले खानपानमा त्यति धेरै बन्देज गर्नुपर्ने अथवा औषधि सेवन गर्नुपर्ने देखिँदैन । रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने अवस्थालाई गाउट अथवा बोलीचालीको भाषामा युरिक एसिड भएको भनिन्छ ।
हाम्रो शरीरमा प्युरिन नामको प्रोटिन टुक्रिएर अन्त्यमा युरिक एसिड बन्छ, जुन केमिकल मुख्य रूपमा पिसाब र केही मात्रामा दिसाबाट बाहिर निस्कन्छ । सत्तरी प्रतिशत केसमा शरीरभित्रकै प्रोटिन टुक्रिएर युरिक एसिड बन्छ भने ३० प्रतिशत केसमा मात्र हामीले खाने प्रोटिनबाट यो केमिकल बन्छ । ९५ प्रतिशत केसमा युरिक एसिड हुने कुनै पनि कारण देखिँदैन, जसलाई प्राइमरी गाउट भनिन्छ भने ५ प्रतिशत मात्र केसमा युरिक एसिड बढ्ने कारण भेटिन्छन्, जसलाई सेकेन्डरी गाउट भनिन्छ । धेरै रक्तसेल ड्यामेज हुने रोग (हेमोलाइटिक एनिमिया), विभिन्न प्रकारका रक्त क्यान्सर, दीर्घकालीन रक्सी सेवन, मधुमेह, रक्तचाप, मोटोपन, डाइयुरेटिक औषधि, थोरै डोज एस्पिरिन, क्षयरोगको औषधि तथा क्यान्सरको औषधि सेवन गर्ने मानिसमा युरिक एसिड बढ्ने सम्भावना बढी हुन्छ । केही मात्रामा युरिक एसिड वंशाणुगत पनि हुन्छ । महिलामा भन्दा पुरुषमा युरिक एसिड बढ्ने सम्भावना १० गुणा बढी हुन्छ । महिलामा युरिक एसिड बढिहाले पनि महिनावारी बन्द भएपछि मात्र देखिने सम्भावना बढी हुन्छ । जनसंख्यालाई विश्लेषण गरेर हेर्दा हरेक १००० जना मानिसमध्ये १ देखि १० जना मानिसमा यो रोग भएको पाइन्छ ।
धेरैजसो मानिसमा यो रोगका लक्षणका बारेमा गलत बुझाइ भएको पाइन्छ । सामान्य रूपमा शरीरका जोर्नीहरू दुख्ने, झमझम गर्ने, हातखुट्टाको मासुमा दर्द हुने, जोर्नीहरू कक्रक्क हुने, तिघ्राको मासु फत्रक्क गल्ने आदि समस्या युरिक एसिड बढेका लक्षण होइनन् । केही मानिसले घुँडा खिएर हुने दुखाइलाई पनि युरिक एसिडको दुखाइका रूपमा लिएर वर्षांैदेखि आफ्नै तरिकाले खानेकुरामा बन्देज लगाइरहेका हुन्छन् । कुनै बिरामीले त यतिसम्म गर्छन् कि ढाड दुखेको अवस्थामा पनि युरिक एसिडको जाँच गराएर मात्र डाक्टरलाई भेट्न पुग्छन् । यी तथ्यबाट के कुरा प्रस्ट हुन्छ भने धेरैजसो मानिस युरिक एसिडका बारेमा केही न केही सजग छन् ।
स्पष्ट रूपमा भन्दा स्वस्थ रूपमा राति सुतेको मान्छे बिहान उठ्दा खुट्टाको बुढीऔंलाको छेउमा दुख्ने, सुन्निने भई बिस्तारै हिँडडुल गर्न पनि गाह्रो हुने अवस्था युरिक एसिड बढेको अथवा गाउटको संकेत हो । दुखाइ यति नाटकीय र सशक्त हुन्छ कि बिरामीहरूले युरिक एसिडका बारेमा नसोचेर त्यो ठाउँमा घाउ भएर पाक्न लागेको हो भन्ने महसुस गर्छन् । यस्तो प्रकृतिको दुखाइ मुख्य रूपमा बुढीऔंलाको बेसमा भए पनि कुर्कुच्चा, घँुंडा, कुहिना र हातको औंलाको जोर्नीमा पनि हुन सक्छ । सामान्यतया एक पटकमा एउटा मात्र जोर्नीमा दुखाइ हुन्छ । कहिलेकाहीं युरिक एसिड र बाथ एउटै रोग हो भनेर पनि बुझ्ने गरिन्छ । बाथ रोग मात्र पनि धेरै प्रकारका हुन्छन् । बाथ रोगको चर्चा गर्दा रिमाटवाइड आथ्राइटिस, एंकाइलोजिङ स्पोन्डिलाइटिस, सोरियाटिक आथ्राइटिस, रियाक्टिक आथ्राइटिस, रिमाटिक हर्ट डिजिज लगायत शरीरका विभिन्न अंग असर गर्ने कनेक्टिब टिस्यु डिजिजजस्ता बाथ पर्छन् ।

सबै बाथको सविस्तारमा चर्चा गर्न अहिले सम्भव छैन । विभिन्न बाथरोगका आआफ्नै विशेष प्रकारका लक्षण हुन्छन् । रिमाटवाइड आथ्राइटिस भन्ने बाथ भएका बिरामीमा सामान्यतया दुवै हातका औंलाका जोर्नी सुन्निने, दुख्ने, बिहान उठ्दा कक्रक्क परेर जाम हुने र रोगको मात्रा बढ्दै जाँदा औंला बाङ्गिने, नाडी लगायत शरीरका अरू मुख्य जोर्नी पनि बिग्रन गई अपाङ्ग हुने अवस्था आउन सक्छ । यस्ता बाथहरू माछामासु र गेडागुडीजस्ता प्रोटिनयुक्त खाना खाएर बढ्ने होइन । यसका लागि नियमित रूपमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । त्यसकारण हामीले के कुरा बुझ्न जरुरी छ भने युरिक एसिड र बाथरोग एकआपसमा अत्यन्तै फरक समस्या हुन् याने कि सबै बाथरोग युरिक एसिड होइनन् ।
युरिक एसिडको उपचार गर्नुभन्दा पहिला यो रोगको पहिचान (डाइग्नोसिस) गर्न आवश्यक छ । माथि उल्लेख गरिएका लक्षणहरूको साथसाथै रगतमा युरिक एसिडको मात्रा ७ वा ७ भन्दा बढी भएमा यो रोग गाउट अथवा युरिक एसिडको समस्या हो भन्ने ठहर्छ । गाउट भन्ने पत्ता लगाइसकेपछि सुरुको अवस्थामा एन्टिइन्फ्लामेटरी र कोल्चिसिन भन्ने औषधि ७ देखि १० दिनसम्म अथवा दुख्ने र सुन्निने कम नभएसम्म सेवन गर्नुपर्छ । ५० प्रतिशत बिरामीलाई यी औषधि र खानपानमा विचार र्पुयाउँदा युरिक एसिड लामो समयसम्म पनि नियन्त्रण गर्न सकिन्छ । तर यो रोगको विशेष समस्या भनेको बारबार दुखाइ बल्झिरहनु हो ।

जोर्नीको दुखाइ छिटछिटो बल्झिएमा, रगतमा युरिक एसिडको मात्रा सामान्यभन्दा ज्यादा भएमा, युरिक एसिडले गर्दा हातखुट्टाका जोर्नी बिग्रने अवस्था भएमा, युरिक एसिडका कणहरू शरीरका विभिन्न अंगमा डिपोजिट भई घाउ भएमा र क्यान्सरको औषधि चलाएर गाउट भएको अवस्थामा युरिक एसिड घटाउने औषधीहरू जस्तै एलोपुरिनोल वा फेबोस्टाट सेवन गर्न आवश्यक पर्छ । तर यस्ता औषधि युरिक एसिडको दुखाइ कम भएपछि मात्र सुरु गर्नुपर्छ । केही बिरामीले युरिक एसिडका लक्षण सुरु हुनासाथ आफ्नै तरिकाले युरिक एसिड घटाउने औषधि सेवन गरेको पाइन्छ । यसले गाउटको समस्या घटाउनुको सट्टा झन् बढाउने गर्छ । दुर्गम भेगमा बसेर सेवा गरिरहनुभएका स्वास्थ्यकर्मीले यो तथ्यलाई विचार र्पुयाएर रोगको उपचार गर्न आग्रह गरिन्छ ।
युरिक एसिड लामो समयसम्म नियन्त्रणमा राख्न सकेन भने के असर गर्छ ? सबैभन्दा पहिला त सम्बन्धित जोर्नीमा युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर जोर्नी बिग्रन सक्छ । रगतमा युरिक एसिडको मात्रा ज्यादा हुँदा मृगौलामा पत्थरी बन्ने सम्भावना हुनुका साथै मृगौलाका सेलहरू पनि बिग्रिएर मृगौला फेल हुने अवस्था आउन सक्छ । कुनै—कुनै अनुसन्धानहरूले युरिक एसिड बढेमा रगतमा कोलेस्टेरोल लगायत अरू लिपिड बढेर मुटुमा असर गर्न सक्छ भनेर उल्लेख गरेका छन् । यसो भनिरहँदा सबै मानिसमा यस्ता समस्या आउँछन् भन्न खोजिएको होइन, केवल सम्भावनाको तथ्यलाई इंगित गर्न खोजिएको हो ।
यो विषयको सबैभन्दा महत्त्वपूर्ण पक्ष के खान हुने र के खान नहुने भन्ने बारेमा हो । युरिक एसिड भइसकेपछि के खान हुने र नहुने भन्ने बारेमा धेरै जनाको फरक राय हुन सक्छ । बिरामीहरूले पनि आफ्नै तरिकाले खान हुने र नहुने कुराको लिस्ट बनाएर राखेका हुन्छन् । प्रयोगात्मक रूपमा युरिक एसिड बढाउने सम्पूर्ण खाना बन्देज लगाउन सम्भव नहुन पनि सक्छ । सामान्यतया युरिक एसिड बढाउने खानाहरूलाई दुई भागमा बाँड्न सकिन्छ, एउटा सागपात र अर्को पशुपन्छी तथा चराचुरुंगी । एनिमल सोर्समा खसीबोका, भेडाच्यांग्राको रातो मासुमा युरिक एसिड ज्यादा हुन्छ । यी मासुमा पनि आन्द्राभुँडी, मुटु—कलेजो, मृगौला, जसलाई भित्री मास पनि भनिन्छ, त्यसमा युरिक एसिड अत्यधिक हुन्छ । माछालगायत सामुद्रिक खानेकुरा, कुखुरा, हाँस र अरू चराचुरुंगीको मासुमा पनि युरिक एसिड पाइन्छ । फरक यति मात्र हो, कुखुराको मासुमा युरिक एसिडको मात्रा रातो मासुमा भन्दा केही कम अवश्य हुन्छ । तर गाउट भएकाहरूले कुखुराको मासु खान हुन्छ भन्नेचाहिँ होइन । यो बाहेक गेडागुडी, च्याउ, रक्सीजन्य पदार्थ, काउली, ब्रोकाउली, एस्पारागस (कुरिलो), स्पाइन्याक (पालुंगो) मा पनि युरिक एसिड पाइन्छ । तर गोलभेँडा, लसुन, प्याज, अमिला चिजहरू जस्तै— कागती, सुन्तला, दहीमा युरिक एसिड पाइन्छ भन्ने जुन जनविश्वास छ, त्यो गलत हो ।
कुनै पनि अनुसन्धानले गोलभेँडा, कागती, दहीका कारण युरिक एसिड हुन्छ भनेर उल्लेख गरेका छैनन् । बरु गोलभेँडामा पाइने एन्टिअक्सिडेन्ट, अमिलो फलफूलमा पाइने भिटामिन सी, दूध—दही, हरियो सागसब्जी, स्ट्रबेरी, चेरी (फलफूल), स्याउ, केरा, सुन्तला, कफीलगायत ग्रिन टिसम्मले युरिक एसिडलाई थोरै–धेरै नियन्त्रणमा राख्न मद्दत गर्छन् । त्यसकारण यस्ता चिज युरिक एसिड बढी भएका मानिसले सेवन गर्दा हुन्छ । एक प्रकारको सुगरजस्तै फ्रुक्टोज भन्ने गुलियो पदार्थ पाइने खानाहरू जस्तै— मिठाई, सफ्ट ड्रिंक्स, कर्न सिरप, आँप तथा अंगुरको जुस र अरू कृत्रिम जुसहरूमा पनि युरिक एसिड पाइन्छ । यस्ता गुलियो चिजमा युरिक एसिड पाइन्छ भन्ने कुरा सबैलाई अन्दाज नहुन सक्छ । रक्सीजन्य पदार्थहरूमध्ये बियरमा युरिक एसिड ज्यादा पाइन्छ भने वाइनमा तुलनात्मक रूपले कम पाइन्छ । प्रशस्त पानी पिउने र शरीरको मोटोपन घटाउने युरिक एसिडलाई नियन्त्रणमा राख्ने अति उत्तम विधि मानिन्छ । किनभने पानीले युरिक एसिडलाई पिसाबबाट बाहिर निकाल्न मद्दत गर्छ । अन्डा एउटा प्रोटिनयुक्त खानेकुरा भए पनि युरिक एसिड बढाउँदैन । प्रयोगात्मक रूपले भन्नुपर्दा युरिक बढाउने शाकाहारी खानेकुरालाई पूर्ण रूपले बन्देज लगाउनु पर्दैन भने मांसाहारी खानेकुरालाई युरिक एसिडको लेबल हेरेर कम गर्नुपर्छ ।
इकान्तिपुरबाट साभार
डा. केसी निजामती अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ हुन् ।