वीरेन्द्रनगरमा बहुउद्देश्यीय कभर्डहलको शिलान्यास

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरमा बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गर्नु भएको छ । भवनको शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले स्वस्थ प्रदेशका लागि खेल आवश्यक रहेको र यसका लागि रकम जुटाउने संघको टोलीलाई धन्यवाद दिनुभयो ।“विश्व बजारसम्म प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादनका लागि प्रदेश सरकार पूर्ण सहयोग गर्न तयार छ,”–उहाँले भन्नुभयो । सुर्खेत ब्याडमिन्टन संघको रु एक करोड ७५ लाखको लागतमा कभर्डहल निर्माण हुन लागेको हो । इन्टरनेट सेवा प्रदायकसँग छलफल पश्चात मुख्यमन्त्री शाहीले आजै कार्यालय समयमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विषयमा सुर्खेतमा इन्टरनेट सेवा दिइरहेका व्यवसायीसँग छलफल गर्नुभएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म कार्यालय समयमा फेसबुक बन्द गर्ने र त्यसपछि पुनःसञ्चालनमा आउने प्रक्रियाका बारेमा उहाँले छलफल गर्नुभएको हो ।मुख्यमन्त्री शाहीले पहिलो चरणमा मुख्यमन्त्रीसहित सात मन्त्रालयमा उक्त नियम कार्यान्वयन गर्ने योजना बनाउनुभएको छ । उक्त नियम मंगलबारदेखि लागू हुने उहाँका स्वकीय सचिव वीरबहादुर कुँवरले जानकारी दिनुभएको छ ।