नेपालमा विश्व सामाजिक कार्य दिवस २०१८ सडक देखि हल सम्म

‘विश्व सामाजिक कार्य दिवस २०१८’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘दिगो समुदाय र वातावरणको प्रवद्र्धन’ भन्ने नारासहित यो वर्षको विश्व सामाजिका कार्य दिवस मनाएको हो ।यो वर्षको सामाजिक कार्य दिवस पनि नेपालमा सामाजिक कार्य अध्ययन गर्दै गरेका विद्यार्थी साथै यससंग सम्बद्धध विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरि मनाए । २०१४ देखि सामाजिक कार्य र प्रत्रकारिता विषय अध्ययन गराउँदै आएको दिव्यभुमि मल्टीपल कलेजले कलेज परिसर कुपोन्डोल क्षेत्रमा सरसफाइ कार्यक्रम गरे । त्यस्तै  काठमाडौंमा रहेको गोल्डेन गेट कलेज, केएनके कलेज, वर्न हर्ट कलेज लगायतका कलेजहरुको संयुक्त आयोजनामा किर्तीपुरस्थित स्मृति भवनमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

उपाध्यक्ष ढुंगेलले शिक्षामा भएको विभेद हटाउन गुणस्तरमा ध्यान दिनुपर्ने भन्दै समाज रुपान्तरण, देशको उन्मुक्तिका लागि सामाजिक कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले हामीले पसिना चुहाएर, श्रम गरेर के गर्यौ भन्ने विषयमा गम्भीरतापूर्वक समिक्षा गर्न आजको आवश्यकता रहेको पनि तर्क गर्नुभयो ।  त्यस्तै त्रिविका प्राध्यापक डा.टिकाराम गौतमले विश्वविद्यालयले सरकारसँग समन्वय गरि सामाजिक कार्यलाई पेसागत रुपमा विकास गर्नुपर्ने बताउनु भयो । सिनासका कार्यकारी निर्देशक डा. मिगेन्द्र बहादुर कार्कीले हामीले विदेशका लागि नभइ नेपालका लागि आवश्यक गर्ने सामाजिक कार्यकर्ता निर्माणमा लाग्नुपर्ने करामा जोड दिनुभएको थियो । त्यस्तै कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी तथा सामाजिक विज्ञान संकायका डिन कोपिराम लम्साल, त्रिविका उप–प्रध्यापक सरोज गिरीले सामूहिक एकता सुदृढ गर्नका लागि र नेपालको सामाजिक कार्यकर्तालाई विश्वका सामाजिक कार्यकर्तासँग समन्वय गर्न दिवसले थप टेवा पुग्ने स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरुले विभिन्न प्रकारका स्टलह पनि राखेका थिए ।