भोली टुँडिखेलमा जाने होइन त ? कसरी जान सकिन्छ र किन ?

फागुन १९ अर्थात भोलि शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्दै छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने भएको हो । ‘भगवान् बुद्धको जन्मस्थल र बुद्धिजमको उद्गमस्थल नेपालको लुम्बिनी हो’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा बुद्धको जन्म नेपाल हो भन्नेसहित बुद्धको उपदेश, प्रवचन, धम्मपदको सारगर्भित अंशसमेत वाचन गरिने छ भने बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वसामु चिनाउनका लागि एकै पटक यति धेरै मानिसको सहभागिता गराएर वाचन गर्न लागिएको हो । बिहान ११ बजेबाट २ बजेम्म सर्वसाधारण टुँडिखेल प्रवेश गरिसक्ने र त्यसपछि मात्र वाचन गरिने छ । करिब १० मिनेट सबैले वाचन गरी गिनिज बुकका कीर्तिमान कायम गर्नका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । बुद्ध नेपालमा नजन्मेको भ्रम फैलाइरहेको भन्दै त्यस भ्रमलाई हटाउनका लागि पनि कार्यक्रम सान्र्द्भिक हुने उनीहरुको भनाइ छ । कार्यक्रममा प्रवेशका लागि पास वितरण गरिसकेकोले आम सर्वसाधरणले पास देखाइसकेपछि मात्र कार्यक्रममा प्रवेशको व्यवस्था मिलाइएको छ । पास नपाएकाहरुका लागि पनि करिब १५ हजार पास टुँडिखेलको मूलगेटमा वितरण गर्ने योजना रहेको छ । चारवटा गेट र ४० वटा सहायक गेटबाट प्रवेशको व्यवस्था मिलाइएको छ । कार्यक्रममा तीन हजार स्वयंसेवक र एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै राष्ट्रिय कलाकारले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन् ।