चर्को शुल्क विरुद्ध विद्यार्थी संगठन

चर्को शुल्क असुल्ने कलेजहरुलाई विद्यार्थी संगठनले निगरानी गर्ने भएको छ । प्रमुख तीन विद्यार्थी संगठनले चर्को शुल्क असुल गर्ने मेडिकल कलेजको अनुगमन गर्न २१ सदस्यीय संयुक्त टोली गठन गरेका छन् ।

 

अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा प्रत्येक संगठनबाट ७–७ जना रहने गरी २१ सदस्यीय टोली गठन गरेको बुधबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बुधबार तीन विद्यार्थी संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी सरकारलाई कर नतिरेका लिटिल एन्जेल्स, डिएभी, जेम्स, रातो बंगला लगायतका विद्यालयलाइ ६ दिनभित्र कर तिर्न अल्टिमेटम समेत दिएका छन् । उनीहरुले प्रदेश ६ र ७ मा छाउपढी प्रथाविरुद्ध जनचेतनामूलक विषयलाई पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापनको वातावरण बनाउन सरकारसग माग गरेका छन् । उनीहरुले माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क घोषणा गरी कार्यान्वयन गर्न पनि माग गरेको छ ।