जनमत शान्ति, समृद्धि र स्थायित्वमा सदुपयोग गर्न राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनबाट प्राप्त जनमत मुलुकको शान्ति, समृद्धि र स्थायित्वका लागि सदुपयोग गर्न राष्ट्रिय जनता पार्टी (राजपा)लाई सुझाव दिनुभएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवलगायत राजपाका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतल निवासमा आज साँझ भएको भेटमा राष्ट्रपतिले सो सुझाव दिनुभएको हो ।

उक्त अवसरमा उहाँहरूबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले चुनावीमा सहभागी भई निर्वाचित हुनुभएकोमा राजपाका नेताहरुलाई बधाई दिदैं मुलुकका मुख्य राजनीतिक पार्टी जिम्मेवार हुनुपर्ने र वर्तमान अवस्थामा देखिएको गतिरोधलाई धैर्यतापूर्वक अगाडि बढाउनुपर्ने बताउनुभएको प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिनुभयो ।

मुलुकको शान्ति, स्थायित्व र समृद्धिमा लाग्न राष्ट्रपति भण्डारीले शुभकामना दिनुभएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिनुभयो । भेटमा आफूहरुले राष्ट्रपति कार्यालयमा रोकिएर रहेका राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन राष्टपतिलाई आग्रह गरेको उहाँले बताउनुभयो । महतोले भन्नुभयो, “हामीले राष्ट्रपतिसमक्ष मधेशी, जनजाति र पिछडिएका वर्गको आन्दोलनलाई निर्वाचनमार्फत जनताले अनुमोदन गरेको बताएका छौँ ।” रासस