वैज्ञानिकहरुले पत्ता लगाए हृदयघातबाट बच्ने उपाय

वैज्ञानिकहरुले कुन व्यक्तिलाई हृदयघात हुन सक्छ भन्ने कुरा थाहा पाउने तरिका पत्ता लगाएको बताएका छन् । अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले यो अध्ययनबाट मृत्युको सबैभन्दा ठुलो कारणमध्ये एक हृदयघातको उपचारमा निकै सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
यो नयाँ तरिकाबाट धमनीहरुको चारैतिर मोटोपन र सुजन पत्ता लगाउन सहज हुनेछ । समयमै यो थाहा पाउनु जरुरी छ।
यसको माध्यमबाट उच्च जोखिममा रहेका विरामीलाई स्ट्रोक वा हृदयघातबाट बचाउनका लागि इन्टेन्सिभ ट्रीटमेन्ट दिन सहयोग पुग्नेछ ।
अध्ययनकर्ताहरु हृदयमा रोगमा सुजनको भूमिकामाथि अध्ययन गरिरहेका थिए ।शरीरभित्र हुने सुजनको सबैभन्दा ठुलो कारण रगतको कोशिकाहरुमा कयौ ससाना टुक्रा एकत्रित हुनु हो । यो टुक्रा पछि फुट्छन् र कारोनरी धमनीलाई ब्लक गरिदिन्छन् । जसका कारण मुटुसम्म अक्सिजन पुग्न सक्दैन । यही हृदयघात हो ।
अध्ययन टोलीमा संलग्न प्रोफेसर चारालन्बोस एन्टाँनियाडेस भन्छन्–करोनरी धमनिीहरुमा हुने सुजन पत्ता लगाउन विगत ५० वर्षदेखि चुनौ ितबनेको थियो ।
कसरी थाहा पाउने ?
साइन्स ट्रान्सलेशन मेडिसनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार रगतको शिराहरुको बाहिर रहेको फ्याटको आधारमा सुजनमा परिवर्तन हुन्छ । जब सुजन बढ्दछ तब फ्याट टुक्रामा बाँडिन थाल्दछ र आसपासका टिश्यु बढी गिलो हुन लाग्दछ ।
मुटुसम्बन्धी रोगको जाँचका लागि पहिलादेखि प्रयोगमा ल्याइएको सिटी स्क्यानको माध्यमबाट पनि यो पत्ता लगायन सकिन्छ । कुनै पनि टिश्यु जति बढी रातो हुन्छ, सुजनको स्तर पनि त्यति नै बढ्छ र हुदयघातको खतरा पनि बढ्छ ।
अध्ययनबाट यो पनि स्पष्ट भएको छ कि जसले कार्डियक सर्जरी गराइरहेका छन्, उनीहरुमा ती परिवर्तनहरु पनि थाहा पाउन सकिन्छ । अध्ययन टिमका अनुसार जाँचको मुख्य कोर्स यो वर्षको अन्त्यसम्म आउनेछ । टिमले करिब २ हजार मुटु स्क्यान गरेर यो पत्ता लगाउने छ कि स्वस्थ देखिने मानिसमा हृदयघातको सम्भावना बताउने यो तरिका सफल हुनेछ ।
समयमै जानकारी
प्रो. एन्टाँनियाडेसले बीबीसी न्युजसँगको कुराकानीमा भने–यो प्रविधिबाट भविष्यमा कसलाई हृदयघात हुन सक्छ भन्ने पत्ता लगाउन सकिने छ।
यसको सिधा अर्थ समय रहँदै रोगी सतर्क हुनेछन् र बच्ने तरिका पनि थाहा पाउनेछन् । उदाहरणका लागि स्वस्थ देखिने कुनै व्यक्ति हुदयरोगको सुरुवाती चरणमा छ र उसलाई कोलेस्ट्रोल कम गर्नु आवश्यक छ भने यो कुरा पहिला नै थाहा हुने छ।
प्रो.मेटिन एभकिरानले भने–यदि यो प्रविधि आफ्नो अहिलेसम्मको कुरामा अडिग रह्यो भने आगामी दिनमा हृदयघात वा स्ट्रोकजस्ता समस्यालाई समय रहँदै रोक्न सकिनेछ। एजेन्सी