भूत यो संसारमै छ कि मनमा मात्र, यस्तो रहेछ वास्तविकता

कुनै खण्डहरमा अँधेरो होस् र अचानक कुनै टक टक आवाज आओस् । यस्तो परिस्थितिहरुमा डर लाग्नु स्वभाविक हो । शरीरमा तरङ्ग पैदा हुन्छ नै तर यो डर आउँछ चैँ कहाँबाट ?

डर वा भय यसको सामना हरेक मानिसले गरेकै हुन्छ । तर, के कुनै कुराले हामीलाई डराउन चाहन्छ वा मस्तिष्कले भ्रम पैदा गराएर हामीलाई असुरक्षित महशुस गराउँछ ? असाधारण घटनाहरुको वैज्ञानिक अध्ययन गर्ने पैरासाइकोलजी, यही डरको उत्तर खोज्ने कोशिस गरिरहेको छ।

बकिंघमशायर न्यु युनिभर्सिटीमा मनोविज्ञान विभागका प्रमुख डाक्टर कायरन ओकिफ भन्छन्–पैरासाइकोलजिस्ट मुख्य रुपले तीन प्रकारबाट अध्ययन गरिरहेका छन् । पहिलो इलाका हो, विचित्र प्रकारको आभास । यसमा टेलिपैथी, पहिलाबाटै आभास हुनु वा परोक्षदर्शनजस्ता कुरा आउने गर्दछन् । दोस्रो हो मस्तिष्कको माध्यमबाट कुनै काम गर्नु, जस्तो नछोईकनलाई चम्चालाई मोड्न् । तेस्रो हो, मृत्युपछिको सम्वाद, जस्तो भूत प्रेत वा आत्माहरुको सम्वाद।

असाधारण घटनाक्रमसँग सम्बन्धित मनोविज्ञान बुझ्नका लागि वैज्ञानिकहरु न्युरोसाइन्सको सहयोग पनि लिइरहेका छन् । असामान्य परिस्थितिहरुमा कतिपय अवस्थामा हाम्रो आँखाले अलग ढंगले व्यवहार गर्दछ। कम उज्यालोमा आँखाको रेटिनल रड कोशिकाहरु सक्रिय हुन्छन् र हल्का मोडिएजस्तो दृष्य देखाउँछ । डाक्टर ओकिफका अनुसार, आँखाको परेलालाई निकै कुनामा पुराएर यदि हामी अन्तिम विन्दुबाट कुनै गतिविधि हेर्छौ भने तब त्यो निकै स्पष्टसँग देखिँदैन । विस्तृत पनि देखिँदैन । मात्र कालो र सोतो देखिन्छ । यसको अर्थ स्पष्ट छ कि रड कोशिकाहरुले रङ्ग देख्न सक्दैन । हुन सक्छ कि यस्तो परिस्थितिहरुमा हाम्रो मस्तिष्क सूचना अभाव पूरा गर्ने कोशिस गर्दछ । दिमागले त्यो सूचनालाई कुनै तार्किक जानकारीमा परिवर्तन गर्ने कोशिस गर्दछ । हामीलाई लाग्न थाल्दछ कि हामीले केही विचित्र देख्यौ । तर्कको आधारमा हामीलाई लाग्छ कि शायद कुनै भूत देखियो ।

यस्तो भलै केही पलका लागि हुन्छ । तर, त्यसपछि मानिसभित्र हलचल सुरु हुन्छ । स्वास प्रश्वास बढ्न थाल्छ, मुटुको गति तिब्र हुन्छ । शरीर निकै चनाखो हुन्छ । केही मानिसलाई निकै बढी नै डर लाग्छ भने केहीलाई केही कम । वैज्ञानिकहरु यसका लागि मस्तिष्कमा मौजुद न्युरोट्रान्समिटरलाई जिम्मेवार ठहराउँछन् । वैज्ञानिकहरुका अनुसार जसरी हरेक व्यक्तिमा भावनाको स्तर अलगअलग हुन्छ, त्यसरी नै डरको मामिलामा पनि हुने गर्दछ ।

ओकिफ भन्छन्–डरलाग्दो वातावरणमा केही मानिसको मस्तिष्कमा डोपोमिनको सक्रिय हुन लाग्दछ, यसका कारण उनीहरुलाई मजा लाग्न थाल्छ । जबकि बाँकी मानिस नराम्रोसँग डराइरहेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार बाल्यकालका खराब अनुभव पनि डरसँग सिधा सम्बन्ध हुने गर्दछ । अक्सर भूतका कथाहरु सुन्ने वा हरर फिल्म हेर्नेहरुको मनमा यस्तो कुरा बस्ने गर्दछ । र, जब कुनै पनि असाधारण घटना हुन्छ, तब त्यो स्मृतिहरुमा दौडिन थालिहाल्छ ।

जब हामी कुनै पूरानो जर्जर भवन देख्छौ, जहाँ अँधेरो छ, वरपर कुनै वस्ती छैन, तब हामीमा भयको अनुभूति उत्पन्न हुन लाग्दछ । वैज्ञानिकहरुका अनुसार अधिकांश हरर फिल्ममा यस्तै भवनलाई भूत बंगलाका रुपपमा पेस गरिएको हुन्छ । यो जानकारी हाम्रो मस्तिष्कमा बसिसकेको हुन्छ । त्यसैले यस्तो भवन देख्ने बित्तिकै हाम्रो मस्तिष्कले हरर फिल्मको स्मृति देखाउने गर्दछ । डर उत्पन्न गराएर यो चेतावनी दिन्छ कि यो स्थानमा खतरा छ । ज्यान बचाउनका लागि यहाँबाट टाढा जानुपर्छ । यसपछि मुटु तिब्र हुन्छ र पुरा शरीर तत्काल भाग्ने वा कुनै संकटको सामना गर्नका लागि तयार हुन्छ । यो सबै कुरा निकै नै सुक्ष्म मनोवैज्ञानिकस्तरमा हुने गर्दछ ।

ओकिफ भन्छन् कि कुनै व्यक्तिलाई यति मात्र भनिदिनुस कि यो भूत बंगला हो, तब उभित्र एकप्रकारको विचित्रको भावना फैलन लाग्नेछ । यसपछि उक्त भवनमा जेसुकै सामान्य ढंगबाट घट्नेछ । उसले त्रास महशुस गर्नेछ । तर के भूत हुन्छ त ? यसको जवाफमा ओकिफ भन्छन्–कल्पना र भूतमा विश्वास या विचित्र परिस्थितिहरु, यसको संयोगले यस्तो आभास हुन्छ कि जसै हामीबाहेक पनि अरु कोही छ, जबकि वास्तावमा कुनै अरु हुँदै हुँदैन । तर, कुनै कुनै वस्तुमा नछोइकन हलचल हुनु र फेरि पूर्वाभास वा टेलिपैथीजस्ता कुराले अहिले पनि विज्ञान जगतलाई हैरान पारिरहेको छ । ओकिफलाई थाहा छ कि मस्तिष्कको केही विलक्षण शक्तिहरु अहिले पनि विज्ञानको दायराभन्दा कोसौ टाढा छ। एजेन्सी